गणतन्त्र मौरिससमा राहदानी तथा कन्सुलर सेवा शिविर सञ्चालन तथा संकलित राजश्वका सम्बन्धमा

नेपाली राजदूतावास प्रिटोरियाबाट विगतमा झैं यस वर्षपनि २०२५ डिसेम्बर ०४ दखि १६ सम्म यस राजदूतावासका  उपनियोग प्रमुख/काउन्सेलर श्री रमेशकुमार चर्मकार र सहचारी श्री दिपक खत्रीको टोलीले गरेको गणतन्त्र मौरिससको भ्रमणका सिलसिलामा त्यहाँ रहेका ५८२ नेपालीहरूलाई विद्युतीय राहदानी आवेदनको प्रत्यक्ष दर्ता तथा जैविक विवरण संकलन; करिब ५० जनालाई अन्य कन्सुलर सेवा प्रदान गर्नुका अतिरिक्त जेलमा रहेका तीनजना नेपालीहरूसँग भेटघाट गरी तिनीहरूलार्इ राजदूतावासको तर्फबाट केही आधारभूत आवश्यकताका सामग्रीहरू समेत वितरण गरिएको थियो ।

यसरी राहदानी तथा कन्सुलर सेवा प्रदान गर्दा सेवाग्राहीहरूबाट जम्मा (१ दक्षिण अफ्रिकी राण्डको अनुमानित मौरिसियन रूपैयाँ ३ का दरले) २९,६६,७५०.०० मौरिसियन रूपैयाँमा र २०,२५५.५४ दक्षिण अफ्रिकी राण्डमा नगदै राजस्व संकलन गरिएको थियो । मौरिससका बैंङ्कमा नेपाली राजदूतावासको राजस्व खाता खोल्न सम्भव नभएकाले उक्त रकम बैंक खातामा जम्मा गरी यस राजदूतावासको दक्षिण अफ्रिकाको First National Bank (FNB) मा स्थानीय मुद्रामा रहेको राजस्व खातामा रकम पठाउन तत्काल सम्भव भएन । त्यसैले राजदूतावासका कर्मचारीले उक्त संकलित राजस्व नगद नै  मौरिससको विमानस्थल र दक्षिण अफ्रिकाको विमानस्थलमा भन्सार जाँचपास तथा मुद्रा घोषणा गरी साथमा ल्याइएको करीब एकहप्ता पश्चात FNB को Foreign Exchange Control को सहमति प्राप्त गरी २३ डिसेम्बर २०२५ मा बैंकमा मौरिसियन रूपैयाँ २९,६६,७५०.०० दाखिला गरिएको थियो ।

यसरी मौरिसियन मुद्रा दाखिला गरिएको भोलिपल्ट अर्थात् २४ डिसेम्बर २०२५को बेलुकामात्र FNB ले उक्त नगद मौरिसियन रूपैयाँ दक्षिण अफ्रिकी राण्डमा सटही गरी यस राजदूतावासको खातामा ९,९४,७८५.९० राण्ड मात्र जम्मा गरेको र त्यसको लगत्तै उक्त वैदेशिक मुद्रा सटही वापत FNB ले नोट सटही कमिसन स्वरूप १७, ९०५.९५ राण्ड ‍यस राजदूतावासको सोही राजस्व खाताबाट कट्टी गरेको । यसरी मौरिसियन रूपैयाँ २९,६६,७५०.०० राजस्व सटही गरी बैंक कमिसन कट्टी पश्चात खुद ९,७९,१३५.४९ राण्ड मात्र राजस्व खातामा जम्मा भएको छ । यसरी बैंक कमिसन कट्टी पश्चात् समायोजित वास्तविक सटहीदर हिसाब गर्दा मौरिसियन रूपैयाँ १.०० ‍= ०.३२९३ दक्षिण अफ्रिकी राण्ड (अर्थात् १ द.अ. राण्ड = ३.०३६८ मौ.रू.) मात्र हुन आउने भएकाले राहदानी नवीरकण वापत १,६०० द.अ. राण्ड (राजदूतावासले तोकेको) अर्थात् ४,८५९ मौ.रू. लिनुपर्नेमा र ४,८०० मौ.रू. मात्र लिइएको र हराएको तथा अन्य कुनै कारणले क्षतिपुगेको राहदानी प्रतिस्थापन वापत २,४०० द.अ. राण्ड (राजदूतावासले तोकेको)अर्थात् ७,२८८.३२ मौ.रू. लिनुपर्नेमा र ७,२०० मौ.रू. मात्र लिइएकोले नेपाली राजदुतावासले दक्षिण अफ्रिकी राण्डमा तोकेको राजस्वदर अनुसार जम्मा गरिनुपर्ने जम्मा राजस्वमा १२,०६४.५१ दक्षिण अफ्रिकी राण्ड नपुग भएको हुँदा सो बराबरको रकम राहदानी आवेदनकर्ताबाट थप उठाउनु पर्ने भएको छ । 

तसर्थ, राहदानी नवीकरणकर्ता आवेदकले प्रतिव्यक्ति १९.५० राण्ड (अर्थात् ५९ मौ.रू. र त्यसमा सटही कमिसन वा अन्य कुनै बैंक चार्ज लाग्ने भएमा सो समेत ) र परानो राहदानी हराएका तथा क्षतिपुगेका प्रतिस्थापनकर्ता आवेदकले प्रतिव्यक्ति २९.१० राण्ड (अर्थात् ८८.३२ मौ. रू. र त्यसमा सटही कमिसन वा अन्य कुनै बैंक चार्ज लाग्ने भएमा सो समेत)  राजस्व वापत थप रकम बुझाउनु पर्ने अवस्था रहेको यसै विज्ञप्ती मार्फत् जानकारी गराउँदै उक्त राजस्व वापत थप बुझाउनु पर्ने रकम यथाशीघ्र यस राजदूतावासको निम्न बमोजिमको बैंक खातामा जम्मा गरिदिने सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छः

Account holder: Embassy of Nepal in Pretoria

Bank: First National Bank (FNB) South Africa

Branch: Brooklyn, Pretoria

Branch Code: 251345

Account No: 62272043961

Account Type: Cheque

Account Currency: ZAR

SWIFT Code: FIRNZAJJ

Reference: Applicant’s name, PP No. & purpose of fee

 

 *नोटः रकम SWIFT गरी पठाउँदा लाग्ने बैंक चार्ज तथा रकम जम्मा गर्ने बैंकले लिने कमिसन आवेदक स्वयंले बेहोर्नुपर्नेछ ।               

यस सम्बन्धमा थप जिज्ञासा भएमा यस राजदूतावासमा eonpretoria@gmail.com वा eonpretoria@mofa.gov.np  ईमेल वा राजदूतावासका सहचारी श्री दिपक खत्रीलाई ह्वाट्सएप नं. +27764998665 मा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ । साथै, तत्काल राजदूतावासको उल्लिखित बैंक खातामा रकम SWIFT गरी पठाउन कुनै असजिलो भएमा सेवाग्राहीको सहजतालार्इ ध्यानमा राखी उक्त राजस्व वापत थप बुझाउनु पर्ने रकम दक्षिण अफ्रिकी राण्डमा (वा मौरिसियन रूपैंयाँमा बुझाउने भए बैंक सटही कमिसन वा अन्य कुनै चार्ज लाग्ने भएमा सो समेत थप गरी) राहदानी वितरणका बखत तोकिए अनुसार नगदै बुझाउन सकिने बेहोरा समेत मौरिससमा रहेका सम्पूर्ण राहदानी आवेदनकर्ताहरूमा जानकारी गराइन्छ ।

त्यसैगरी, राहदानी छपाइ भएर राहदानी विभागबाट यस राजदूतावासमा प्राप्त भैसकेपछि कुरियर गरी मौरिससमा राहदानी पठाउँदा लाग्ने इन्भ्वइस बमोजिमको ढुवानी खर्च (शिपिङ चार्ज) समेत लाग्ने भएकाले सो समेत आवेदकहरूबीच दामासही भाग लगाई उहाँहरू स्वयंले राहदानी वितरणका बखत बेहोर्नु पर्ने बेहोरा सम्बन्धित सबैलाई अग्रिम जानकारीको लागि पुनःअनुरोध गरिन्छ ।  

साथै, गणतन्त्र मौरिससको उक्त भ्रमणका बखत नेपाली राजदूतावासको टोलीले त्यहाँको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू, Director of Public Prosecution, Mauritius Chamber of Commerce and Industry का प्रतिनिधिहरू, Mauritius Commercial Bank का पदाधिकारी, केही मौरिसियन व्यवसायीहरू, केही स्थापित ट्राभल एण्ड टुर एजेन्सीहरूका प्रतिनिधिहरूसँग भेटघाट तथा छलफलका साथै अन्य कन्सुलर सहायता उपलब्ध गराउनुका अतिरिक्त मौरिससको Eastern High Security Prison, Melrose मा थुनामा रहेका तीनजना नेपालीहरूसँग त्यहाँका Prison Welfare Officer को सहयोग र समन्वयमा र तिनीहरूको कानुन व्यवसायीसँग भेटघाट गरी उनीहरूको अवस्था बुझ्नुका साथै राजदूतावासको तर्फबाट आधारभूत आवश्यकताका सामग्रीहरू समेत प्रदान गरिएको थियो ।

अन्तमा, राजदूतावासको टोलीको मौरिसस भ्रमण, खासगरी राहदानी तथा कन्सुलर सेवा शिविर सफलतापूर्वक सञ्चालनार्थ भई प्रत्यक्ष वा परोक्षरूपमा साथ, सहयोग र समन्वय गरिदिनु हुने मौरिसस सरकारका निकायहरू, अन्य संघसंस्था तथा निजीक्षेत्रका प्रतिनिधिहरूका अतिरिक्त विद्युत, इन्टरनेट, प्रिन्टर, पानी तथा शौचालय, आदिलगायतको सुविधा सहित होटलको लबी निःशुल्क उपलब्ध गराइदिनु भई सहयोग गर्नु हुने Landmark City Hotelका सञ्चालक नेपाली व्यवसायी श्री टेकलाल खनाल, तथा सेवाग्राहीहरूको अत्यधिक चाप व्यवस्थापन गर्ने, राहदानी पूर्वप्रत्यक्ष दर्ता फाराम भर्नमा सहयोग गर्ने, शिविर सञ्चालनको व्यापक प्रचार-प्रसार गरी सहयोग गर्ने, एवं आवश्यकता अनुसार ल्यापटप तथा प्रिन्टरको प्रयोगका लागि उपलब्ध गराउने लगायत अन्य रचनात्मक सहयोग गर्नुहुने मौरिससमा रहनुभएका सकारात्मक सोचका धनी सबै स्वयंसेवी नेपाली युवाहरूप्रति नेपाली राजदूतावास, प्रिटोरिया (दक्षिण अफ्रिका) हार्दिक आभार व्यक्त गर्दछ ।     

 

नेपाली राजदूतावास

प्रिटोरिया

२०२५ डिसेम्बर २७, शुक्रबार