नेपाल प्रवेश अनुमति सम्बन्धी नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय

कोभिड-१९ को नयाँ भेरिएण्ट ओमिक्रोनको सङ्क्रमण देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिविया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउने नेपाली नागरिकहरु, कूटनीतिक वा अफिसियल पासपोर्ट बाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकहरु नेपाल प्रवेश गर्ने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८।९।८ को निर्णयानुसार देहायबमोजिमको ब्यवस्था भएको छ ।

१. पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र कूटनीतिक वा अफिसियल पासपोर्ट बाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा घरमै १० दिन क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिने।

२. खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकहरूको नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्ने। परीक्षण रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेसनमा पठाउने र परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई घरमै १० दिन क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिने।

३. खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका कूटनीतिक वा अफिसियल पासपोर्ट वाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशीहरूको नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्ने। परीक्षण रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेसन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेसनमा पठाउने र परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई १० दिन होटेल क्वारेन्टिन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिने।