Passport

यस दूतावासबाट प्रदान गरिने विद्युतीय राहदानी (Electronic Passport) र यन्त्रवाचक राहदानी (Machine Readable Passport) सम्बन्धी सेवा प्राप्तिका लागि पूरा गर्नुपर्ने प्रकृया एवं आवश्यक कागजातहरु देहायबमोजिम रहेको छ ।

१. विद्युतीय राहदानीका लागि पूरा गर्नुपर्ने प्रकृयाहरु

क) अनलाइन अग्रिम दर्ता (Pre-Enrollment) प्रकृया
-दूतावासमा प्रत्यक्ष दर्ता (Live Enrollment) का लागि आउनुअघि राहदानी विभागको वेवसाइटमा गई राहदानीको लागि आवेदन (Apply for Passport) मा क्लिक गर्ने वा सिधै https://emrtds.nepalpassport.gov.np/ मा जाने।
– तत्पश्चात् आउने चारवटा विकल्पहरु (a) पहिलो पटक राहदानी लिन (New) (b) म्याद सकिएको राहदानी नविकरण गर्न (Renewal) (c) हराएको/चोरिएको राहदानीको सट्टमा राहदानी लिन (Replacement-Lost/Stolen) (d) बिग्रेको राहदानीको सट्टामा (Damaged) मध्ये निवेदकको अवस्था र कागजातबमोजिम एउटा विकल्पको छनौट गर्ने ।
-पूरानो राहदानी हस्तलिखित भएका र यन्त्रवाचक राहदानी नबनाएका आवेदकले पहिलो पटक राहदानी लिन (New) भन्ने विकल्प छान्ने ।
-कार्यालयको वा व्यक्तिगत गल्ती भई पुनः विद्युतीय राहदानी बनाउनुपर्ने भएमा आवेदकले नविकरण (Renewal) भन्ने विकल्प छान्नुपर्ने ।
-तत्पश्चात् प्राप्त हुने सूचनाको अध्ययन गरी आफूले आवेदन गर्ने पेज संख्याको राहदानीको छनौट गरी Proceed button मा click गरी अगाडि बढ्ने ।
-त्यसपछि आउने आवेदन फाराममा आफ्नो व्यक्तिगत विवरण भर्ने र दक्षिण अफ्रिका एवं दूतावास सहप्रमाणीकृत मुलुकहरुमा रहेका नेपाली नागरिकहरुले आवेदन केन्द्र छान्दा दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली नियोग छनौट गर्ने ।
– फाराम भरी सकेपछि प्रष्ट बुझिने गरी बारकोड सहितको फाराम प्रिन्ट गर्ने ।
-फाराम पेश गर्नुअघि विद्युतीय राहदानीका लागि आवश्यक कागजातहरु स्क्यान गरी अपलोड गर्ने ।
-आफूसँग भएका र अपलोड गरेका कागजातबमोजिम अनलाईन फाराममा विवरणहरु प्रविष्टि गर्ने र केही त्रुटी भएको पछि थाहा हुन गएमा लाइभ इनरोलमेन्ट गर्दा दूतावासका सम्बन्धित कर्मचारीलाई सच्याउन अनुरोध गर्ने ।
-अनलाईन पेश गरिसकेपछि त्यसलाई प्रिन्ट गरी पेश गरिएका सबै कागजातहरु लिएर दूतावासमा तोकिएको मिति र समयमा उपस्थित हुने ।
-निवेदकको नाम, थर तथा ठेगानालाई अङ्ग्रेजी भाषामा लेख्दा हिज्जे फरक पर्न सक्ने हुँदा पूरानो राहदानी भएमा सो अनुसार र शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लिखित हिज्जेअनुसार गर्ने ।

ख) आवश्यक कागजातहरु

-राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयको नम्बर देखिने कागजात र नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि (राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयको नम्बर देखिने कागजात नभएमा दूतावासलाई जानकारी गराउने) ।
-नावालकको हकमा नावालक परिचयपत्रको सक्कल र नावालकको आमाबुबाको नागरिकता र विवाह दर्ता (विदेशमा जन्मेको नाबालकको हकमा नेपाल गई नाबालक परिचयपत्र बनाउन नसकिएको अवस्थामा बाबु र आमाको नागरिकता एवं राहदानीको प्रमाणपत्र, कन्सुलर सेवा विभाग, परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गरिएको विवाह दर्ता प्रमाणपत्र र नाबालकको विदेशमा प्राप्त जन्मदर्ता प्रमाणपत्र लिई दूतावासमा उपस्थित भई जन्म दर्ता अभिलेख खडा गर्ने र सो जन्म दर्ता अभिलेख नम्बर उल्लेख गरी राहदानी आवेदन प्रकृया अघि बढाइने)।
-पहिले यन्त्रवाचक राहदानी लिएको भए सोको सक्कल ।
-हराएको राहदानी नम्बर तथा प्रतिलिपि नभएमा राहदानी विभागबाट विवरण लिई सो देखिने कागजात (आवश्यक परेमा दूतावासले सहयोग एवं सहजीकरण गर्ने)
-विवाहित महिला निवेदकले पतिको थर कायम गरी राहदानी लिन चाहेमा विवाहदर्ता प्रमाणपत्रको सक्कल ।
-पतिको थर हटाउनुपर्ने भएमा सम्बन्ध विच्छेदको प्रमाण ।
-शैक्षिक प्रमाणपत्रअनुसार नाम र जन्म मिति कायम गर्नुपर्ने भए सो प्रमाणपत्रको सक्कल ।

ग) प्रिईनरोलमेन्ट गर्दा ध्यान दिनुपर्ने कुराहरु

-थर (Surname) भर्दा आवेदकको नेपाली नागरिकताको प्रमाणपत्र/नाबालक परिचयपत्र, विवाह दर्ता वा पूरानो राहदानीमा उल्लेख भएको थर लेख्ने ।
-नाम (Given Names) भर्दा आवेदकको नागरिकताको प्रमाणपत्र, नाबालक परिचयपत्र, विवाहदर्ता वा पूरानो राहदानीमा उल्लेख भएको नामको पहिलो र बीचको नाम लेख्ने ।
-जन्मस्थान (Place of Birth) सम्बन्धी खण्ड भर्दा आवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लिखित जन्मस्थान भर्ने र नेपालमा जन्मिएका आवेदकले आफू जन्मिएको जिल्लाको नाम र विदेशमा जन्मिएका आवेदकले आफू जन्मिएको देशको नाम अङ्ग्रेजीमा भर्ने ।
-राष्ट्रियता (Nationality) सम्बन्धी खण्ड भर्दा अङ्ग्रेजीमा Nepali भर्ने ।
– जन्ममिति (Date of Birth) खण्ड भर्दा आवेदकले नागरिकताको प्रमाणपत्र, नाबालक परिचयपत्र वा पूरानो राहदानीमा उल्लेख भएको जन्ममिति विक्रम सम्बतमा र त्यसलाई रुपान्तरण गरी इश्वी सम्बतमा समेत लेख्ने ।
-लिङ्ग (Sex) खण्ड भर्दा आवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लिखित लिङ्ग भर्ने ।
-नागरिकता वा अनुमति नं. (Citizenship or Permit No.) सम्बन्धी खण्ड भर्दा आवेदकको नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालक परिचयपत्रको नम्बर भर्ने र त्यस्तो नम्बर नअट्ने भएमा दायाँतर्फका अंक वा अक्षर नछुट्ने गरी अटाएसम्म बायाँतर्फका सबै अंक वा अक्षर भर्दै जाने।
-जारीमिति (Date of Issue) मा नेपाली नागरिकताको प्रमाणपत्र र नाबालकको हकमा नाबालक परिचयपत्र जारी भएको मिति बिक्रम सम्वतमा उल्लेख गर्ने एवं प्रतिलिपि नागरिकता निकालेको भएमा सोमा उल्लिखित सबैभन्दा पहिले नागरिकता जारी गरेको मिति तथा स्थान उल्लेख गर्ने ।
– जारी भएको स्थान (Place of Issue) मा नागरिकताको प्रमाणपत्र र नावालकको हकमा नावालक परिचयपत्रमा उल्लिखित जारी भएको जिल्लाको नाम अङ्ग्रेजीमा लेख्ने र विदेशमा जन्मिएका नेपाली नागरिकका नवजात सन्तानका लागि नेपाल गई नावालक परिचयपत्र बनाउन नसकेको अवस्थामा पहिलो पटक राहदानी बनाउने प्रयोजनका लागि दूतावासमा जन्म अभिलेख खडा गरी त्यस्तो अभिलेख कायम गरिएको नम्बर उल्लेख गरी राहदानी जारी गर्नुपर्ने अवस्थामा दूतावास रहेको शहरको नाम र जारी मितिमा अभिलेख तयार गरिएको मिति लेख्न सकिने ।
-राष्ट्रिय परिचयपत्र नम्बर (National Identity No) भएको स्थानमा राष्ट्रिय परिचयपत्रको नम्बर उल्लेख गर्ने । (विदेशमा भएका कारण राष्ट्रिय परिचयपत्र नम्बर नभएको अवस्थामा खाली छोड्न सकिने )
-पूरानो राहदानी वा यात्रा अनुमतिपत्र सम्बन्धी खण्ड भर्दा पहिले राहदानी वा यात्रा अनुमतिपत्र लिएको भए उक्त राहदानी वा यात्रा अनुमतिपत्रको नम्बर र पहिले एक भन्दा बढी राहदानी वा यात्रा अनुमतिपत्र लिएको भएमा पछिल्लो राहदानी/यात्रा अनुमतिपत्रको नम्बर भर्ने ।
– बिद्युतीय राहदानी लिईसकेपछि कुनै त्रुटी भई सच्याउनु परेमा पूरानो राहदानी खण्डमा विद्युतीय राहदानीको नम्बर उल्लेख गर्ने।
-ठेगाना (Address) सम्बन्धी खण्ड भर्दा आवेदकको नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रमा उल्लेख भएको ठेगाना भर्ने। राज्य पुन:संरचना हुनु अगावै नेपाली नागरिकताको प्रमाणपत्र बनिसकेकाको हकमा राज्य पुन:संरचनाम पश्चात् कायम हुन गएको ठेगाना उल्लेख गर्ने। बसाइँसराइ गरी ठेगाना परिवर्तन भएकोमा बसाइँसराइको प्रमाणपत्र वा निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्रको प्रतिलिपी पेश गरी बसाइँसरेको ठाउँको ठेगाना वा विवाहित महिलाको हकमा विवाहदर्ता पेश गरी पतिको हालको ठेगाना लेख्ने।
-ठेगाना अन्तर्गतका उप-खण्डहरू भर्दा निवेदकको स्थायी ठेगाना भएको प्रदेश, जिल्ला, नगरपालिका वा गाउँपालिका, वडा नम्बर, टोल वा गाउँको नाम र घर नम्बर वा ब्लक नम्बर भएमा सो समेत क्रमैसँग लेख्ने। घर नम्बर वा ब्लक नम्बर नहुनेले घर नम्बरको ठाउँ खाली छोड्ने।
-इमेल (email) सम्बन्धी खण्डमा आवेदकको सम्पर्क इमेल ठेगाना भएमा प्रष्टसँग उल्लेख गर्ने।
-फोन नं. सम्बन्धी खण्डमा निवेदकको फोन नं. भएमा प्रष्टसँग उल्लेख गर्ने। आफ्नो फोन नभएमा परिवारका सदस्य वा नजिकका चिनजानका व्यक्तिको नम्बर दिने।
-बाबुको पूरा नाम (Father’s Full name) भएको खण्डमा नेपाली नागरिकता प्रमाणपत्रमा उल्लेख भएको आफ्नो पिताको पूरा नामथर उल्लेख गर्ने।
-आमाको पूरा नाम थर (Mother’s Full name) भएको खण्डमा नेपाली नागरिकता प्रमाणपत्रमा उल्लेख भएको आफ्नो आमाको पूरा नामथर उल्लेख गर्ने।
-जरुरी परेमा सम्पर्क गर्ने विवरण (Contact details in case of Emergency) खण्डमा आवेदक विदेशमा छँदा जरुरी परेमा खबर गर्न सकिने निजको परिवारको सदस्य वा आफन्तको नाम र ठेगाना भर्ने।
-यन्त्रवाचक राहदानी बनाईसकेको भए विद्युतीय राहदानी बनाउँदा यन्त्रबाचक राहदानीमा उल्लेख भएको जन्ममिति, नाम, थर, नागरिकता नम्बर/व्यक्तिगत नम्बर राखी आवेदन गर्न सकिने।

घ) राजस्व

विद्युतीय राहदानीको लागि
-नयाँ/नविकरण (३४ पृष्ठको विद्युतीय राहदानी): १६०० रयाण्ड
-नयाँ/नविकरण (६६ पृष्ठको विद्युतीय राहदानी): २६०० रयाण्ड
-१० वर्षमुनिका नाबालकको हकमा आधा शुल्क लाग्ने
-हराएको/च्यातिएको वा केरमेट भएको हकमा दोब्बर शुल्क लाग्ने

२. यन्त्रवाचक राहदानी सम्बन्धी प्रकृया र आवश्यक कागजातहरु (दक्षिण अफ्रिका बाहिर दूतावास सहप्रमाणीकृत मुलुकहरुमा रहनु भएका नेपाली नागरिकहरुको हकमा मात्र)

क) प्रकृया तथा आवश्यक कागजातहरु

-राहदानीका लागि नेपालको राहदानी विभाग (Department of Passports) को वेवसाइट www.nepalpassport.gov.np मा गई त्यहां उल्लेख गरिए अनुसारको राहदानी फारम कम्प्युटरमा डाउनलोड गरी कम्प्युटरमार्फत भरिएका दुईप्रति फाराम र तोकिएको गुणस्तर र साइजका फोटा टांसगरी दूतावासमा पेश गर्ने ।
-फाराम भरी A4 साइजमा प्रिन्ट गर्नुपूर्व पेज स्केलिङमा मार्जिन छोड्दा “ None” विकल्प छान्ने ।
-फाराममा हस्ताक्षर गर्ने खण्डमा कालो मसीले आफ्नो हस्ताक्षर गरी निर्दिष्ट स्थानमा ल्याप्चे लगाएको हुनुपर्ने ।
-पुरानो राहदानीको सक्कल तथा प्रतिलिपि
-नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि वा अग्रेजी उल्थाको सक्कल र प्रतिलिपि ।
-हालै खिचिएको पासपोर्ट साइजका ४ प्रति रंगिन फोटाहरुः फोटाहरु किनारा नभएको, अनुहारको भागले सम्पूर्ण फोटोको ७० देखि ८० प्रतिशत भाग ओगटेको र दुवै कान स्पष्ट देखिने हुनुपर्दछ । फोटो विवरणका लागि राहदानी विभाग वा दूतावासको वेवसाइटको MRP खण्डमा हेर्नसकिनेछ ।
-दक्षिण अफ्रिकाबाहेक अन्य देशमा रहनुभएका नेपाली नागरिकको हकमा नयाँ वा राहदानी नविकरणका लागि नेपाली राजदूतावास प्रिटोरियाको नाममा प्राप्त हुने गरी बैंक वा मनि ट्रान्स्फर कम्पनीमार्फत पठाउनु पर्नेछ। तोकिएको राजश्व रकम बैंक वा मनी ट्रान्स्फर कम्पनीमार्फत पठाएको प्रमाण निवेदनका साथ संलग्न हुनु पर्नेछ। बैंक रसिदको स्क्यान गरी दूतावासलाई इमेलमार्फत समेत पठाएर अग्रिम जानकारी गराउन सकिनेछ । दूतावासको खातामा वैंकमार्फत वा दूतावासका नाममा मनि ट्रान्फर कम्पनीमार्फत पैसा पठाउंदा लाग्ने वैंक कमिशन¸ चार्ज वा सटही दरमा हुनजाने हेरफेर लगायतका लागि खर्च लाग्ने भए सो खर्च समेत आवेदकले नै व्यहोर्ने गरी तोकिएको पुरा राजश्व शुल्क दूतावासका नाममा प्राप्त हुनुपर्नेछ ।
-केन्यामा रहनुभएका नेपाली नागरिकहरुले राहदानीका लागि फारम तथा अन्य कागजातहरु दूतावासमा पठांउँदा माथि उल्लिखित कागजातहरुमा नेपाली अवैतनिक बाणिज्यदूताबास भएको ठाउं (हाल केन्याको नैरोबी) मा प्रमाणित गराइ कुरीयरमार्फत पठाउनुपर्ने छ।कुरीयरका साथमा राहदानीका लागि बैंकमार्फत पठाएको शुल्कको भौचर वा कुपन समेत समावेश गरिनुपर्नेछ ।
-दुतावासलाई राहदानी वापतको राजस्व रकम प्राप्त भए पश्चात् आवेदकको राहदानी फाराम नेपाल पठाइने र राहदानी प्राप्त भएपछि सो जानकारी आवेदकलाई गराइनेछ । कुरीयरमार्फत दूतावासबाट राहदानी प्राप्त गर्न सकिने भएकाले निवेदकसम्म राहदानी पुर्याउने व्यवस्थाका लागि निवेदकले आफै कुरीयर सेवाको अग्रिम व्यवस्था गर्नुपर्ने र सो को जानकारी दूतावासलाइ अग्रिम रुपमा इमेल वा टेलिफोनमार्फत गराउनुपर्नेछ ।

ख) राजस्व रकम र दूतावासको राजस्व खाता सम्बन्धी विवरण

यन्त्रवाचक (Machine Readable Passport) राहदानीको लागि
-नयाँ/नविकरण: १६०० रयाण्ड
-१० वर्षमुनिका नाबालकको हकमा आधा शुल्क लाग्ने
-हराएको/च्यातिएको वा केरमेट भएको हकमा दोब्बर शुल्क लाग्ने

नेपाली राजदूतावास¸ प्रिटोरिया¸ दक्षिण अफ्रिकाको नाममा राजश्व रकम जम्मा गर्नुपर्ने दूतावासको बैकखाता विवरणः

-FNB Bank Details of the Embassy’s Revenue Account (for the purpose of collecting revenue from service seekers, staying abroad or within South Africa, who can’t visit the Embassy or send money via Money Gram or Western Union)

Account holder: Embassy of Nepal in South Africa
Bank: First National Bank (FNB) South Africa
Branch: Brooklyn, Pretoria
Branch Code: 251 345
Account No: 622 720 43961
Account Type: Cheque
Amount: ZAR (As designated for specified/requested service/document)
Reference: Applicant’s name & purpose of fee
SWIFT Code: FIRNZAJJ

Embassy of Nepal Contact: eonpretoria@mofa.gov.np, Tel: +27 (0)12 3427546

३. एकतर्फी यात्रा अनुमति सम्बन्धी प्रकृया

-दक्षिण अफ्रिका वा दूतावास सहप्रमाणिकृत देशमा रहेका कुनै नेपाली नागरिकको राहदानी हराएको वा नष्ट भएको र तुरुन्तै नेपाल फर्कन आवश्यक भएको कारण जनाई सम्बन्धित व्यक्तिले एकतर्फी यात्रा अनुमती पत्र प्राप्त गर्नका लागि आवश्यक प्रक्रिया पुरा गरी निवेदन दिएमा नियमानुसार यस दूतावासबाट एकतर्फी यात्रा अनुमतीपत्र जारी गर्न सकिने छ ।
यसका लागि देहायका कागजातहरु समावेश गरिएको हुनुपर्नेछः
– नेपाली नागरिकताको सक्कल तथा प्रतिलिपि
– राहदानीको प्रतिलिपि वा सो सम्बन्धी राहदानी विभागबाट जारी भएको कागजात
-हालसालै खिचिएका २ प्रति पासपोर्ट साइजका फोटाहरु
-राजस्व शुल्क १००० रयाण्ड
-अन्य देशहरुबाट रकम पठाउँदा तोकिएको बैंक वा मनि ट्रान्स्फर कम्पनीमार्फत दूतावासका नाममा प्राप्त हुनेगरी जम्मा गर्नुपर्ने ।


Useful Link:
1. Size of MRP Photo
2. MRP Form