वि.सं:
नेपाल संवत: ११४५ चौलाथ्व पञ्चमी - ५
प्रेस विज्ञप्ति
दक्षिण अफ्रिकाका लागि नेपालका नवनियुक्त राजदूत महामहिम प्रा. कपिल मान श्रेष्ठले आज यहाँका राष्ट्रपति महामहिम मातामेला सिरिल रामाफोसा (His Excellency Matamela Cyril Ramaphosa) समक्ष आफ्नो ओहोदाको प्रमाण-पत्र पेस गर्नु भएको छ । नेपाल लगायत विभिन्न १४ देशका राजदूत तथा हाइकमिसनरहरूले ओहोदाको प्रमाणपत्र पेश गर्न प्रिटोरियास्थित यहाँको राष्ट्रपति भवनको अतिथिगृह सेफाको माक्खाथो (Sefako Makgatho) मा आयोजित एक भव्य समारोहकाबीच महामहिम राष्ट्रपति समक्ष ओहोदाको प्रमाण-पत्र पेस गर्नेक्रममा राजदूत श्रेष्ठले नेपाल र दक्षिण अफ्रिकाबीच रहँदै आएको सुमधुर एवं भातृत्वपूर्ण सम्बन्ध पारस्परिकहित तर्फ थप प्रगाढ बनाउन भूमीका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा महामहिम राजदूतज्यूले दुई देशबीच प्रजातान्त्रिक शासन व्यवस्था, समावेशिता लगायतका संवैधानिक प्राबधानहरू एवं सामाजिक-सांस्कृतिक विविधताका क्षेत्रमा समेत समानता रहेकोले नेपाल र दक्षिण अफ्रिकाबीचको बहुआयामिक द्विपक्षीय सबन्ध थप विस्तार गर्नसकिने पर्याप्त सम्भावना रहेको बिचार व्यक्त गर्नुभएको थियो । महामहिम राजदूतज्यूले आफ्नो ओहोदाको प्रमाण-पत्र पेश गर्ने समारोहमा उहाँकी श्रीमती मेनका कुमारी राजभण्डारी श्रेष्ठ समेत सहभागी हुनु भएको थियो ।
यसरी नवनियुक्त राजदूतज्यूले यहाँका राष्ट्रपति समक्ष ओहोदाको प्रमाण-पत्र पेश गर्नु भएपश्चात् उहाँलाई नेपालको तर्फबाट कूटनीतिक गतिविधिमा संलग्न हुन औपचारिक मान्यता प्राप्त भएको हुँदा महामहिम राजदूत प्रा. कपिल मान श्रेष्ठलाई नेपाली राजदूतावास प्रिटोरिया परिवार हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछ ।
नेपाली राजदूतावास, प्रिटोरिया
2081 चैत्र १४ गते, विहीबार
(27 मार्च 2025)