बाढी प्रभावित समुदायका लागि स्वेच्छिक आर्थिक सहयोगको अपिल

बाढी प्रभावित समुदायका लागि स्वेच्छिक आर्थिक सहयोगको अपिल

सार्वजनिक सूचना !
बाढी प्रभावित समुदायका लागि स्वेच्छिक आर्थिक सहयोगको अपिल

दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास, प्रिटोरिया रसुवा जिल्लास्थित भोटेकोशी नदीमा मिति २०८३ भदौ १० गते बुधबार आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका विभिन्न क्षेत्रहरू गम्भीर रूपमा प्रभावित भएकोप्रति गहिरो दुःख व्यक्त गर्दछ । उक्त प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति हुनुका साथै प्रभावित समुदायको जनजीवन तथा जीविकोपार्जनमा समेत व्यापक असर परेको छ ।

नेपाल सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै प्रभावित नागरिकहरूलाई आवश्यक तत्कालीन सहयोग उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको छ ।

यस गम्भीर मानवीय संकटको घडीमा, राजदूतावास विदेशमा रहेका नेपालीहरू, नेपाली संघ–संस्था तथा संगठनहरू, अन्तराष्ट्रिय सामाजिक तथा परोपकारी संस्थाहरू, मित्रराष्ट्रका नागरिकहरू, शुभेच्छुक महानुभावहरू, व्यक्ति तथा संस्थाहरूलाई यसैसाथ संलग्न बैंक खातामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा तोकिएका राहत कोषहरूमा स्वेच्छिक आर्थिक सहयोग उपलब्ध गर्नुहुन हार्दिक अपिल गर्दछ ।

प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा यहाँहरूबाट प्राप्त हुने उदार सहयोग, ऐक्यबद्धता र सद्भावले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास राजदूतावासले लिएको छ ।

नेपाली राजदूतावास, प्रिटोरिया
१३ भदौ २०८३